
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडीलिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि मंगलबार आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताउनुभयो । जिप, कपडा, जुत्ता, मोबाइल, साबुन लगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताउनुभयो ।
बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्