
काठमाडौं, असार ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाभाइरसविरुद्ध लड्न रोगप्रतिरोधी क्षमता बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानलाई मजाकमा उडाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमा विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा बुधबार मन्त्री भट्टराईले अन्य मुलुकका प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्न रोगप्रतिरोधी क्षमता बढाउन जनतालाई आग्रह गर्दा प्रशंसा भएको तर प्रधानमन्त्री ओलीले गरेको त्यही आह्वानलाई उडाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्रलाई उकास्न ठूला पर्यटकीय गन्तव्य छनोट गरी बहुवर्षीय योजनाकोरुपमा लैजाने बताए ।
यसैगरी, खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी असारभित्रै टनेलमा परीक्षण गर्ने दाबी गरेकी छन् ।
मन्त्री मगरले मेलम्चीको पानी काठमाडौंमा आउनेमा शंका नगर्न आग्रह गर्दै आयोजनाको काम भौतिकरुपमा चालू आर्थिक वर्षभित्रै सकिने दाबी गरिन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अतिक्रमित भूमि समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने सरकारको कामले नेपालको स्वाभिमान उच्च भएको बताइन् ।
उनले बालुवाटारस्थित सरकारी जग्गा फिर्ता गर्न सरकारले खुट्टा नकमाएको जिकिर गरिन् ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले मौलिक हक कानुन कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको बताइन् ।
मन्त्री तुम्बाहाङफेले न्यायलाई छिटो र सहज बनाउने तथा स्थानीय तहका न्यायिक समितिलाई बलियो बनाउन आवश्यक बजेटका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको बजेट साढे २२ अर्ब कटौती भएपनि राष्ट्रिय गौरवका आयोजना, रणनीतिक महत्वका सडकलगायतका भौतिक पूर्वाधार निर्माणका कामहरु नरोकिने दाबी गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको सुरुआत भएको भन्दै सामाजिक विकृति, विसंगति, कुरीति र अन्धविश्वासको अन्त्य र सामाजिक रुपान्तरका लागि मन्त्रालय रणनीतिक योजना बनाएर लागिपरेको बताए ।
प्रतिक्रिया दिनुहोस्