
काठमाडौं, असार ३ । नेपाली कांग्रेसले लकडाउनको समयमा क्वारेन्टिनभित्र एक हजार ६ सयभन्दा बढी महिलालाई हिंसा भएको दाबी गरेको छ ।
कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको दाबी गरेको हो ।
क्वारेन्टिनभित्र भएका हिंसाका छिटपुट घटना बाहिरिए पनि धेरै गुपचुप पारिएको पनि संघले जनाएको छ । यो कोरोनाभाइरस महामारीपछि गत चैत ११ देखि लकडाउन गरिए यताको तथ्यांक भएको संघले जनाएको हो ।
गत जेठ ३२ मा कैलाली लम्कीचुवास्थित एक क्वारेन्टिनमा महिलामाथि सामूहिक बलात्कार हुनुले क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको आरोप पनि संघले लगाएको छ ।
संघकी अध्यक्ष उमा रेग्मीले विज्ञप्ति निकाल्दै उक्त घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेकी छिन्, ‘लम्कीचुवा क्वारेन्टाइनमा राती सुतिरहेकी एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वयंसेवकलगायत चार जनाबाट पाशविक तबरले सामूहिक बलात्कार भएको छ । यस घट्नाले नेपाल महिला संघ स्तब्ध भएको छ र नेपाल महिला संघको गम्भीर ध्यानकर्षण भएको छ । क्वारेन्टाइन महिलाहरुका लागि हिंस्रक खाडल भएको छ ।’
सरकारको नालायकीले यस्ता घटना भएको आरोप लगाउँदै उनले भनिन्, ‘सरकारको अव्यवस्था, अकर्मण्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्ना दिनानुदिन बढ्दै गइरहेका छन् । सरकार केवल रमिते बनेर बसेको छ । पूरै दण्डहीनताको अवस्था छ ।’
महिला संघले पीडितलाई न्याय र राहतको व्यवस्था गर्न र अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्