
काठमाडौं, भदौ ५ । स्वास्थ्यसम्बन्धी अनुसन्धान र प्रमाणबाट स्वास्थ्यसम्बन्धी कार्यक्रम र नीति नबनाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र जीआइजेटले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा सरोकारवालाहरुले स्वास्थ्य नीति तथा कार्यक्रमहरु अनुसन्धानबाट प्राप्त तथ्यको प्रयोगको आधारमा नभइ व्यक्तिगत चासोका आधारमा बन्ने गरेको गुनासो गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता अच्चुतराज पाण्डेले अनुसन्धानको आधारमा स्वास्थ्य नीति नबन्दा स्वास्थ्य क्षेत्रको सुधार हुन नसकेको बताए ।
नीति–निर्माताले उपलब्ध तथ्यहरुको नीतिगत पक्षबाट विश्लेषण गर्न नसक्ने, क्षमताको कमी र अनुसन्धान विधिप्रतिको ज्ञानको कमीका कारण स्वास्थ्यको राम्रो नीति बन्न नसकेको पाण्डेले बताए ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रसम्बन्धी अनुसन्धानको निकै महत्व रहेको भन्दै स्वास्थ्यसम्बन्धी प्रमाण हेरेर अब स्थानीय तहले पनि स्वास्थ्यको कार्यक्रम बनाउनुपर्ने बताए ।
अन्तर्राष्ट्रिय संस्थाहरुले आफनो चासोअनुसार अनुसन्धान गर्दा त्यसमा सरकारको चासो नहुने गरेको अनुसन्धानकर्ताहरुले बताए ।
कार्यक्रममा स्वास्थ्य नीति र कार्यक्रममा तथ्यको प्रयोग गर्न आवश्यक विधिबारे जानकारीसमेत दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्