
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, भदौ ५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारालाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेको छ ।
मंगलबार भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाईफायर गरेको छ भने १० सेल अश्रुग्यास प्रहार गरेको छ ।
घटनाको ढाकछोप गर्न प्रहरीले ‘मानसिक सन्तुलन गुमाएको व्यक्ति’ पक्रेर वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।
उनीहरुले मंगलबार भीमदत्तनगर बजार बन्द गराउनुका साथै राजमार्गसमेत बन्द गराएका छन् ।
प्रहरीले निर्मला हत्याको आरोपमा भीमदत्त नगरपालिका–१९ का अन्दाजी ४१ वर्षीय दिलीपसिंह विष्टलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्रहरीले हत्याको अभियोग लगाएपनि आरोपी विष्टले भने आफूलाई फसाउन खोजेको बयान दिएका थिए ।
उनलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न कन्चनपुर जिल्ला अदालतले आदेश दिएको थियो ।
भीमदत्त नगरपालिका–२ की निर्मला गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकोमा ११ गते भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्