पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


65
Shares

पर्वत । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

पर्वत जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार उद्घाटन गरिएको हो । पर्वतका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालय उद्घटन मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आगामी निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न सबैलाई सहयोगका लागि आग्रह गर्नुभयो । निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज र सञ्चार क्षेत्र तथा आम मतदाताको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निर्वाचनलाई भय रहित र शान्तिपूर्ण रुपमा सम्पन्न हुने कुरामा विश्वस्त हुन आग्रह समेत गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा कतिपय स्थानमा भएका निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई राजनैतिक आधारमा सुरक्षा निकायले डिल गरेको तथा कतिपय उम्मेदवारलाई जिताउनका लागि निर्देश दिएको आरोप समेत लागेको थियो ।

प्रमुख जिलला अधिकारी सापकोटाले निर्वाचनमा सबै सुरक्षा निकायले निष्पक्ष रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आजै पर्वतमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक समेत बसेको छ । बैठकले आचार संहिता अनुगमनलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिता पालना गर्ने दायित्व सबै पक्षको भएको र उल्लंघन गर्नेलाई सचेत बनाउने र कारबाही गरेर निर्वाचनलाई मर्यादित बनाउनुपर्ने धारणा सहभागीहरुले राखेका थिए ।

निर्वाचन आचारसंहिता यहि असोज १२ गतेदेखि लागू भएको छ । पर्वतमा भने आचारसंहिता लागू भएको दोस्रो दिनमा गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री मधुमाया अधिकारीले सरकारी सवारी साधनको दुरुपयोग गर्दै पार्टी प्रवेश कार्यक्रममा सहभागी भएको पाइएको छ । मन्त्री अधिकारी कुस्मा नगरपालिका-१४ आर्थर डाँडास्वारा गाउँमा आफ्नो सरकारी सवारी साधनमा झण्डा हल्लाउँदै पुगेर विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गराउनुभएको थियो ।

तर आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही हुनुपर्नेमा बैठकका सहभागीले आवाज उठाएका थिए । यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहितामा गरिएकाे परिर्वतन र नयाँ ब्यवस्थाहरुमा जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।