नेपाल–भारतबीच वार्ता गराउन कांग्रेसले पहल गर्नुपर्छ: डा. कोइराला (भिडियो) - Image Khabar
Everest Bank

नेपाल–भारतबीच वार्ता गराउन कांग्रेसले पहल गर्नुपर्छ: डा. कोइराला (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला सरकारले पारित गरेको नेपालको नयाँ नक्सापछि नेपाल र भारत सरकार  बीच वार्ता गराउॅन  कांग्रेसले पहल गर्नुपर्ने बताएका छन् ।

नयाँ नक्सा जारी भएपछि सरकारले अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग वार्ताको पहल गरिरहे पनि प्रभावकारी नभएको भन्दै कांग्रेसले यसको पहल गर्नुपर्ने बताएका हुन ।

नेपाल राजनीतिक अस्थिरता बढ्दा होस या माओवादी जनयुद्धलाई रोकेर शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिका प्रभावकारी भएकाले अब नेपाल–भारतबीचको बार्ता गराउन पनि कांग्रेसले मध्यस्थकर्ताको रुपमा काम गर्नुपर्ने डा. कोइरालाको तर्क थियो ।

ईमेज टेलिभिजनसँगको कुराकानीमा उनले कुटनीतिक रुपमा नेपालको केही कमजोरी रहेपनि भारत पनि उत्तिकै जिम्मेवार रहेको बताए ।

हालै भारतीय मन्त्री र नेताहरुबाट आइरहेको अभिब्यक्तिलाई  विश्लेषण गरी विज्ञहरुको परामर्श गरेर नेपाल सरकार अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

डा.कोइरालाले मधेस र मधेसीलाई काठमाडौंले नचिनेकाले तराइ मधेसका नागरिक र नेताहरुप्रति राष्ट्रियताको प्रश्न उठ्नु दुर्भाग्य भएको बताए ।

उनले भने,‘मधेसमा राष्ट्रियताको सवालमा कुनै कमजोरी छैन तर पहिचानको लडाइलाई हामीले बुझ्नुपर्ने हो, त्यसैले मधेस केन्द्रित दलका नेताहरुले उठाइरहेका महाकाली सन्धीको सवाल कुनै नौलो होइन ।’

फरक प्रशंगमा डा. कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको कुराहरु जनताले पत्याउनै छाडेको दाबी गरे । कुरा गरेअनुसार उनको भूमिका प्रभावकारी नदेखिएको उनले बताए ।

त्यस्तै, कोरोना भाइरस महामारी नियन्त्रण, नेपाल भारत सीमा समस्या, विदेशबाट स्वदेश फर्कन चाहने नेपाली श्रमिक र एमसीसीका विषयमा नेपाली कांग्रेस पनि अलमलिएको उनले बताए ।

सरकारले गरेका गलत काम साथै पारदर्शीता, जवाफदेयिता, शुसासनलगायतका विषयमा प्रतिपक्षमा रहेको कांग्रेस चुकेको बताए । तर अब काग्रेस शसक्त भएर प्रस्तुत हुने उनले प्रतिबद्धता जनाए ।

हाल सडकमा भइरहेको सरकार विरोधी प्रदर्शनले अराजकता निम्ताउन सक्ने भएकाले यसको नेतृत्व आवश्यक रहेको डा. कोइरालाको सुझाव थियो ।

उनले भने, ‘आन्दोलनले सरकारलाई सही बाटोमा हिड्नका लागि दबाब दिइरहेकाले मापदण्ड अपनाएर भइरहेको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप र लाठी प्रहार निन्धनीय छ ।’

त्यस्तै डा. कोइरालाले खाडी, भारत तथा अन्य देशबाट आइरहेका नेपालीहरुलाई क्वरेन्टीन व्यवस्थित नभएको, परीक्षणको दायरा नबढाएकोमा उनले आपत्ति जनाए ।

https://www.youtube.com/watch?v=D93SFBc6Zcg&list=PL4KpYIaOsc4Etgh5biSyb6f8CVn8KgVkF

प्रतिक्रिया दिनुहोस्