Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


अर्घाखाँचीमा गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण


0
Shares

अर्घाखाँची, असार २ । जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । 

क्वारेन्टिनबाट भागेका  पक्राउ

भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २  ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गथ जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः  क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

रुकुमपूर्व कोरोना सङ्क्रमणमुक्त

रुकुमपूर्व, असार २ । रुकुमपूर्व– स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व) कोरोना सङ्क्रमणमुक्त भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट मंगलबार नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए । 

दाङमा कोरोना संक्रमण तीव्र

घोराही– दाङमा मंगलबार थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

राप्ती  प्रतिष्ठामा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ ।

मंगलबार पुुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ । प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टिनमा खटिएका भान्छे र  स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्युठानमा थप २० मा कोरोना

झिमरुक– प्युठानमा मंगलबार थप २०  व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक  महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले बताए ।

सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ ।

जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् । रासस