२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


कोरोनाविरुद्ध अग्रपंक्तिमा कार्यरतका लागि एक करोडको बीमा गरः नेपाली कांग्रेस


0
Shares

काठमाडौं, असार२ । नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिका लागि एक करोडको बीमा गर्न सरकारसँग माग गरेको छ ।

७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क बीमा गर्न माग गरेका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको एक करोडको बीमा गर्नुपर्ने कांग्रेसले जनाएको हो । क्वारेन्टिनको सुधार गर्न र पीसीआर परीक्षण बढाउन पनि कांग्रेसले माग गरेको छ ।

काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जनताका समस्या सम्बोधन गर्न असफल सरकार जनताको समस्या पन्छाउँदै भ्रष्टाचारमा लिप्त भएको, महामारीमा आफ्ना कार्यकर्ता पाल्न केन्द्रित रहेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको बताए ।

सरकारले १० अर्ब खर्च गरेको बताए पनि महानगरपालिकाले एक रुपैयाँ नपाएको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताइन् ।

कांग्रेसले न्यायपूर्ण ढंगबाट राहत वितरण गर्न, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरुत्थानको लागि विशेष कार्यायोजना सहित राहत प्याकेज घोषणा गर्न पनि माग गरेको छ ।