
-प्रकाश नेपाल/ईमेज:
इलाम । भुटानबाट विस्थापित भएर पूर्वी नेपालका केही जिल्लामा बसोबास गर्दै आएका भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भएपछि सोही क्षेत्रका नेपाली समुदायालाई असहज भएको छ ।
पुनर्वासको क्रम बढेसँगै कामदारको अभाव र स्थानीय उत्पादन बिक्री हुन छाडेकाले स्थानीयवासीलाई असहज भएको हो । त्यस्तै असहजता इलामको चुलाचुलीमा समेत देखिएको छ ।
भुटानमा बसोबासको लागि उपयुक्त नभएर केही दशकअघि नेपाली भाषी भुटानीहरु नेपालमा आश्रय लिन बाध्य भएका थिए ।
नेपाल सरकारको पहलमा उनीहरुलाई खुल्ला जंगल क्षेत्रमा आरक्षणको लागि व्यवस्था मिलाइएको थियो ।
जसमध्ये कतिपय पुनर्वासका लागि तेस्रो मुलुक विस्थापित भइसकेका छन् भने कतिपय अझै बसोवास गरिरहेका छन् ।
नेपाली भाषी भएकोले उनीहरु नेपाली समाजमा सहज रुपमा घुलमिल भएर छिमेकीकै रुपमा बसोबास गरिरहेका थिए ।
तर उनीहरुको पुनर्वास हुने क्रम जारी गरेपछि उनीहरु बसेका बस्ती सुनसान बन्न थालेका छन् ।
त्यतिमात्र होइन नेपाली समुदायसँग आलोपालो गरी खेतीपाती गर्ने र सहयोग आदानप्रदान गर्ने उनीहरु नहुँदा स्थानीयले नरमाइलो महसुस गरिहेका छन् ।
मेलापातमा काम गर्दा खेतालाहरुको समेत अभाव खड्किन थालेको चुलाचुलीका स्थानीय हेमन्त राइको गुनासो छ ।
सिबिर आसपासका वस्तीमा काम खोज्दै आउने उनीहरुले खेतीपाती र अन्य काम ठूलो सघाउ पु¥याएका थिए ।
त्यतिमात्रै होइन उनीहरु रहँदा स्थानीय रुपमा उब्जेका अन्नपात, फलफूल र अन्य उत्पादनले सहज रुपमा बजार पाउँथ्यो तर अहिले गाँउमा फलेका फलफुल बिक्री नभएर पशुचौपायलाई दिन बाध्य भएकोे स्थानिय शान्तिमाया राई बताउछिन् ।
उनीहरु तेस्रो मुलुक जाने क्रम जारी छ । जसले गर्दा उनीहरुको बसोवास रहेको शिविर जंगलको रुपमा परिणत भएकोले जंगली जनावरको त्रास बढेको स्थानीय बताउँछन् ।
चुलाचुली मात्रै होइन अन्य क्षेत्रमा पनि भुटानी शरणार्थी पुनर्वास हुँदा खासगरी कामदार र बजारको अभावले नेपाली वस्तीमा समस्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्