
काठमाडौं, असार १ । चीनको राजधानी बेइजिङमा समुदायस्तरमै ३६ जना कोरोना संक्रमित भेटिएपछि दोस्रो लहर सुरु हुने चिन्ता बढेको छ ।
बेइजिङमा पछिल्ला ५० दिनमा नयाँ संक्रमित भेटिएका थिएनन् ।
बेइजिङमा ३२ वर्षदेखि सञ्चालित सीनफादी थोक बजारमा संक्रमण देखिएको हो ।
स्थानीय सञ्चारमाध्यमहरुले बाहिरबाट ल्याइएको माछाको परिकार काट्न प्रयोग गरिएको चपिङ बोर्डमा भाइरस फेलापरेको उल्लेख गरेका छन् ।
बजारमा संक्रमण देखिएपछि बेइजिङका थप १० क्षेत्रमा ‘लकडाउन’ गरिएको छ । बजारका करिब १० हजार कर्मचारीको परीक्षण गरिने जनाइएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य कमिसनले पछिल्लो दुई महिनायता पहिलोपटक गत बिहीबार बेइजिङमा एकजना र शुक्रबार छजनामा नयाँ संक्रमण देखिएको जनाएको थियो ।
यता, चिनियाँ उपप्रधानमन्त्री सु चुन्लालले संक्रमण थप फैलने जोखिम उच्च रहेको बताए ।
लिओनिङ, हुवेई र सुचुवान प्रान्तमा पनि संक्रमण देखिएको छ । बेइजिङलगायत चीनका अधिकांश भू–भागमा जनजीवन सामान्य बन्दै गरेको बेला नयाँ संक्रमण भेटिएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्