१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


‘नेपालमा कोरोना संक्रमण अझै नियन्त्रणभित्रै’


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, जेठ ३१ । नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । तीमध्ये अधिकांश संक्रमित भारतबाट आइ ‘क्वारेन्टिन’मा बसेकाहरु हुन् ।

विज्ञहरुले संक्रमण समुदायस्तरमा गइसकेको बताइरहेको बेला हाल क्वारेन्टिनमा बसेकामा मात्र संक्रमण देखिनुले संक्रमण कसरी फैलिरहेको छ ? भन्ने प्रश्न उठिरहेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दैगर्दा गत वैशाख २४ गते वीरगन्जको छप्पकैयाका एकै परिवारका १७ जनामा संक्रमण देखियो ।

वीरगन्ज महानगरपालिकाका एकजना कर्मचारीलाई संक्रमण पुष्टि भएपश्चात् उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा एकै परिवारका १७ जनामा संक्रमण देखिएको थियो ।

यस्तै, नेपालगन्जमा एकैदिन १५ जनामा संक्रमण देखियो । नेपालगन्ज–५ का ६० वर्षीय वृद्धमा संक्रमण देखिएपश्चात् उनको सम्पर्कमा आएका ९० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भयो ।

उदयपुरको भुल्केमा पनि संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्दै गएको थियो । संक्रमितको संख्या बढ्दै गएको समयमा वैशाख र जेठमा संक्रमण एकपछि अर्को व्यक्तिमा सर्दै गएको पाइथ्यो । जसलाई विज्ञहरुले संक्रमण समुदायमा नै पुगेको जनाएका छन् ।

तर, पछिल्लो केही दिनयता भने क्वारेन्टिनमा बसेकाहरुमा मात्र संक्रमण देखिन थालेको तथ्यांक स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने गरेको छ । तीमध्ये धेरै भारतबाट नै आएका छन् ।

के अब संक्रमित जति क्वारेन्टिनमा मात्र छन् त ? संक्रमण समुदायमा गएको होइन ? वा अन्य केही कारणले संक्रमण परिवार र समुदायमा नगएको हो ? यसबारे हामीले जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षितलाई सोधेका थियौं ।

डा. दीक्षित ‘१५ हजार व्यक्ति भारतबाट आइरहेका छन् । तर, दिनहुँ चार–पाँच हजारकोमात्र परीक्षण भएपश्चात् क्वारेन्टिनमा बसेकामा मात्र संक्रमण देखिएकोजस्तो देखिएको हो’–भन्छन् ।

नेपालमा आयातित ‘केस’मा मात्र अझै संक्रमण देखिनुलाई डा. दीक्षित संक्रमण अझै नियन्त्रणभित्र नै रहेको टिप्पणी गर्छन् ।

अझै संक्रमण नियन्त्रण गर्न सकिने अवस्थामा नै रहेकाले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको छिटो स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा स्वःस्फूर्तरुपमा आन्दोलनमा उत्रिएका युवाहरुको भिडभाडले संक्रमण बढाउने खतरा बढेको डा. दीक्षित बताउँछन् ।

यसले संक्रमण ज्येष्ठ नागरिक र दीर्घरोगीसम्म पुग्ने सम्भावना बढाएको बताए ।

क्वारेन्टिनमा बस्नेहरुमा मात्र संक्रमण भेटिनुले संक्रमण अझै नियन्त्रणमा नै रहेको देखाउँछ ।

तर, परीक्षण नै नपाएर मृत्युवरण गर्नुपर्ने र क्वारेन्टिनमा बसेकालाई ‘पीसीआर’ परीक्षण नै नगरी पठाउनुले भने जोखिम बढाएको छ ।

भिडियो हेर्नुहोस्