Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


देउवा पक्षले समानुपातिकको सूची नसच्याए विकल्प सोच्छौँ : कोइराला पक्ष


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहले समानुपातिकको बन्द सूची नसच्याइए चुनावमा भाग नलिने चेतावनी दिएको छ ।

शनिवार काठमाडौंमा आयोजित डा.शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताउनु भयाे ।

उहाँ भन्नुभयाे, ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।’

केसीले समानुपातिकको सूची नसच्याइए अर्को विकल्पका लागि तयार रहन समेत उनले चेतावनी दिनुभयाे ।

उहाँले पार्टीमा ५० औं वर्षसँगै लडेका कार्यकर्तालाई न्याय चाहिएको बताउनु भयाे । उहाँले पार्टीको निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गर्दै एकलौटी ढंगले समानुपातिक बन्दसूची तयार पारिएकोमा आक्रोश व्यक्तसमेत व्यक्त गर्नुभयाे ।

भेलामा केन्द्रीय सदस्यहरु प्रतिमा गौतम, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, विभिन्न प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापतिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता रहेकाे थियाे ।