
काठमाडौं, भदौ ४ । करिब १६ सय वर्ष पूरानो दक्षिण कोलियग्राम हालको काठमाडौंको लगनटोल क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदाहरु संरक्षण गर्न स्थानीय बासिन्दा र सम्पदा संरक्षणका अभियन्ताहरुले माग गरेका छन् ।
नेपालकै पूराना ढुंगेधारामध्ये एक लिच्छविकालीन यंगाहिटिको संरक्षणका लागि सोमबार सरसफाइ गर्दा उनीहरुको यस्तो माग गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको घरनजिकै सो ढुंगेधारा रहेपनि संरक्षण नभएको भन्दै स्थानीयले नेपाली सेनाको सहयोगमा सरसफाइ गरेका हुन् ।
यंगाहिटिको परिसरमा लिच्छविकालीन दुईओटा शिलालेख, बौद्धचैत्य, शिवलिंग, विष्णुलगायत विभिन्न देवदेवीका मूर्तिहरु रहेका छन् ।
यंगाहिटिको निकास फेला नपरेका कारण वर्षायाममा पानी जम्ने गरेको र केही महिनाअघिमात्र धाराबाट पानी आएपनि हाल बन्द रहेको स्थानीयले बताएका छन् ।
धाराको मूल वरपर हाल आधुनिक घरहरु निर्माण हुँदा यंगाहिटिमा असर पुगेको स्थानीयले बताएका छन् ।
शाक्य र ज्यापूसहित अरु समुदायहरुको बसोवास रहेको दक्षिण कोलियग्राममा प्राचीन बौद्धविहार, चैत्य, मठमन्दिरहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्