स्याङ्जामा निर्वाचन खर्च नबुझाउने ९१५ जना जनप्रतिनिधि कारबाहीमा « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


स्याङ्जामा निर्वाचन खर्च नबुझाउने ९१५ जना जनप्रतिनिधि कारबाहीमा


507
Shares

स्याङ्जा । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने ९ सय १५ जना जनप्रतिनिधिलाई कारबाही गरिने भएकाे छ ।

५ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा नगरपालिकाका प्रमुख–उपप्रमुखमा १७ र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष गरी २४ जनाले मत परिणाम आएको १ महिनाभित्र खर्च विवरण निर्वाचन कार्यालयमा नबुझाएपछि उनीहरु कारबाहीमा पर्ने भएका हुन् ।

त्यस्तै, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्य गरि जम्मा ८ सय ७४ जनाले खर्च विवरण नबुझाएसँगै जरिवानामा परेका र खर्च विवरण नबुझाउने सबै उम्मेदरवारहरुको नाम र जरिवाना रकमसहित निर्वाचन अयोगकाे वेबसाइटमार्फत सार्वजनिक गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, गल्याङ नगरपालिकामा प्रमुख–उपप्रमुख ५ जना, चापाकोट नगरपालिकामा ५ जना, पुतलीबजार नगरपालिकामा एक जना, भीरकोट नगरपालिकामा ३ जना र वालिङ नगरपालिकामा ३ जनालाई ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको उहाँले बताउनुभयाे ।

त्यस्तै, गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षतर्फ अर्जुनचौपारी गाउँपालिकामा ४ जना, आँधीखोला गाउँपालिकामा ४ जना, कालीगण्डकी गाउँपालिकामा ३ जना, फेदीखोला गाउँपालिकामा २ जना, विरुवा गाउँपालिकामा ५ जना र हरिनास गाउँपालिकामा ६ जनालाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना आयोगले तोकेको उहाँले बताउनुभयाे ।

उहाँले वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमध्ये गल्याङ नगरपालिकामा १ सय ३४, चापाकोट नगरपालिकामा १ सय ४१, पुतलीबजार नगरपालिकामा १ सय, भीरकोट नगरपालिकामा ८१ र वालिङ नगरपालिकामा १ सय ९ जनालाई जनही २ लाख रुपैयाँ जरिवाना तोकेको बताउनुभएकाे छ ।

त्यस्तै, गाउँपालिकाको वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यतर्फ अर्जुनचौपारी गाउँपालिकामा ४७, आँधीखोला गाउँपालिकामा ६४, कालीगण्डकी गाउँपालिकामा ३६, फेदीखोला गाउँपालिकामा २४, विरुवा गाउँपालिकामा ६४ र हरिनास गाउँपालिकामा ७४ जनालाई जनही १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएकाे छ ।