१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


कान्ति बाल अस्पतालको ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने


0
Shares

काठमाडौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने व्यवस्था गरेको छ ।

कान्तिले सर्वसाधारणले घरबाटै टिकट लिन मिल्ने गरि एप्सको विकास गरेपछि यो सम्भव भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए ।

एप्सको प्रयोग गरिएसँगै अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिए । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनले बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए ।

उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने छ ।

यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।