नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै


39
Shares

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित विभिन्न ब्यक्तिहरुले पाँच वटा रिट दायर गरेका छन् ।

राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ रहेको दाबी रिट निवेदकहरुले गरेका छन् । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा १ सय १३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चार वटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुनाले आज एकै इजलासमा हेरिने भएको छ ।