१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


युरोकप फुटबलको छनौट चरणमा रुसलाई सहभागि नगराइने


78
Shares

काठमाडौं । युरोपेली फुटबल महासंघ युएफाले सन् २०२४ मा हुने युरोकप फुटबलको छनौटमा रुसलाई सहभागि नगराउने भएको छ ।

युरोकप फुटबलको छनौट खेलहरु आगामी महिना सुरु हुँदैछ ।

युक्रेनमाथिको सैन्य हमलासँगै फिफा र युएफाले गत फेब्रुअरीमा रुसमाथि सबै खाले फुटबल गतिबिधीबाट प्रतिबन्ध लगाएका थिए । साथै रुसी क्लबहरु समेत युरोपियन प्रतियोगिता खेल्न अयोग्य भएका थिए ।

युरोकप छनौटको खेल तालिका यही अक्टोबर ९ तारिखमा सार्वजनिक हुँदैछ । ५३ टोली सहभागी रहने छनोट चरणमा रुसलाई समावेश गरिएको छैन । सन् २०२४ को युरोपियन च्याम्पियनसिप जर्मनीले आयोजना गर्दैछ । आयोजक जर्मनी स्वतः प्रतियोगितामा छनोट भइसकेको छ ।

युएफामा आवद्ध बाँकी देशहरुलाई १० समूहमा वर्गिकरण गरिनेछ । प्रत्येक समूहको विजेता र उपविजेता युरोकपका लागि छनोट हुनेछन् । प्लेअफमार्फत थप तीन टोलीको टुंगो लाग्नेछ । युरोकप फुटबलको फाइनल चरणमा कुल २४ टोली सहभागि हुनेछन् ।