७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


निर्मला पन्तको ‘हत्यारा’ २४ दिनपछि पक्राउ, ‘फसाउन खोजियो’ (अपडेट)


0
Shares

कैलाली, कन्चनपुर,  भदौ ४ । बलात्कारपछि हत्या भएको २४ दिनपछि कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश नम्बर–७ को अनुसन्धान समूहको संयुक्त टोलीले घटनामा संलग्न एक अभियुक्तलाई पक्रेको हो ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१९, खन्ना चौराहीका ४१ वर्षीय दिलीपसिंह विष्ट रहेका छन् । उनलाई शनिबार घरबाटै पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीले सोमबार कन्चनपुरमा पत्रकार सम्मेलन गरी अभियुक्त विष्टलाई सार्वजनिक गरेको छ ।

साउन १० गते बाटोमा गइरहेका बेला निर्मलाको साइकलको चेन बिग्रिएको देखेर चेन बनाइदिएको र वरपर कोही नदेखिएपछि उखुबारीमा लगेर बलात्कार गरेको विष्टले बताएको प्रहरीको दाबी छ ।

बलात्कारबाट निर्मला रक्ताम्य बनेपछि पक्राउपर्ने डरले उखुबारीमै उनको हत्या गरेको अभियुक्त विष्टले बयान दिएको प्रहरीको भनाइ छ ।

विष्ट २०६५ सालमा आफ्नै भिनाजुको हत्याको अभियोगमा जेल परेर निस्किएका व्यक्ति भएको पनि खुलेको छ ।

उनलाई जिल्ला अदालत कन्चनपुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला ११ गते उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।

फसाउन खोजिएको आरोप

उता, जिल्ला अदालत कन्चनपुरकाअनुसार विष्टले आफूले बालिकाको बलात्कार र हत्या नगरेको बयान दिँदै आफूलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा पनि प्रहरीले विष्टलाई तस्वीर र भिडियोका लागिमात्र उपस्थित गराएको थियो ।

उनलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।