२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


संखुवासभामा खाद्यान्न अभाव, गरिब र मजदुर महंगो मूल्यमा चामल किन्न बाध्य


0
Shares

संखुवासभा । संखुवासभा जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न अभाव भएपछि जिल्लाका अति गरिब र मजदुरले महंगो मूल्यमा चामल किन्न बाध्य बनेका छन् ।

खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यका साथ स्थापना भएको यस कम्पनीद्वारा खाद्यान्न बिक्री वितरण बन्द गरेपछि विपन्न परिवारले बजारमा महंगो मूल्यमा चामल किन्न बाध्य भएका हुन् ।

जिल्लाको सदरमुकाम खाँदवारीमा दैनिक करिब ३ हजार ५ सय केजी चामल बिक्री गर्दै आएकोमा अहिले खाद्य डिपो १ महिना अगाडीदेखि बन्द रहेको छ ।

उनीहरुले खाद्य डिपोबाट ३८ रुपैयाँ २५ पैसा प्रति केजीमा किनेर खाँदै आएकोमा अहिले बजारमा प्रतिकेजी ६० रुपैयामा किन्नु परेको बताएका छन् ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी रामप्रवेश मण्डल भने डिपोमा अहिले दुई सय क्विन्टल मात्र खाद्यान्न रहेको र उक्त खाद्यान्न दैवीप्रकोप र कारागारका कैदी बन्दीका लागि राखिएको बताए । 

यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रति केजी ३८ रुपैयाँ २५ पैसा र जापनीज चामल प्रति केजी ४३ रुपैयाँ २० पैसा दरले बिक्री गर्दै आएको थियो ।