काठमाडौं । काठमाडौं गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ ।
स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्र केही समययता महत्वपूर्ण दृश्य भेटिँदा चिन्तित बनाएको छ । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रूचाएका चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ पश्चात् पछिल्लो समय झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ ।
भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । युट्युबमा पनि पछिल्लो केही समययता पाइरेसी भए पनि त्यहाँ रिपोर्ट (उजुर) गरेको केही समयमै हट्ने गरेको देउजाले बताए ।
पछिल्लो समय छिटपुट रूपमा चलचित्रको क्लिप टिकटकबाट हटाउनुपर्ने गुनासो आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्रवक्ता पशुपतिकुमार रायले बताएका छन् । यो समस्यालाई हटाउन प्रहरीसहितको सहयोगमा हल सञ्चालकले सचेतना बढाउनुपर्ने निर्देशक देउजाको भनाइ छ ।
यो समस्याका बारेमा नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घमा पनि देउजाले कुरा गरिसकेका छन् । पाइरेसी गरिरहेको भए तापनि टिकटकमै देखेर चलचित्र हेर्न आएका हौँ भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । सचेतनामार्फत पनि अटेरी गर्नेलाई कानूनी कारवाही गर्नुपर्ने देउजाकोे भनाइ छ ।
पछिल्लो समय फिचर्समा अपडेट भएर लामो भिडियो हाल्न पाइने भएपछि भने केही समस्या बढेको चलचित्र सङ्घका महासचिव महर्जनले स्वीकारेका छन् । महासचिव महर्जनका अनुसार टिकटकलाई नै पत्राचार गरेर केही गर्न सकिन्छ कि भन्ने सल्लाह सङ्घले गरिरहेको छ ।
गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडियो क्लिप बनाउनेक्रम बढेको हो । भारतीय चलचित्र आरआरआर र केजीएफ च्याप्टर २ को टिकटकमा भेटिएको दृश्यहरू जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ । विदेशी मात्र होइन, स्वदेशी चलचित्र ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो ।
पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यस किसिमको समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाउनुकै कारणले लोकप्रियतासँगै समस्या सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्