
सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाको गौमती र कमला नदीको दोभानमा रहेका ऐतिहासिक धार्मिक पर्यटकीय स्थानहरु ओझेलमा पर्दै गएका छन् ।
सरकारी निकायको वेवास्ताका कारण मध्यपूर्वी क्षेत्रको प्रशिद्ध धार्मिकस्थल कमलामाईस्थान ओझेलमा परेको हो । कमलामाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थानहरुको पर्याप्त रुपमा काम गर्न नसकेका कारण मन्दिर परिसरमा संरक्षण हुन नसकेको हो । पवित्र धार्मिक तीर्थस्थल शुद्ध भई चोखो मनले कमलामाई स्थानको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रही आएकोले कमलामाईस्थानको महिमा बढेको छ ।
सिन्धुली, सर्लाही, महोतरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा उदयपुर रामेछाप र दोलखा जिल्लाका साथै भारतका विभिन्न स्थानहरुका सर्वसाधरणहरुले वर्ष दिनमा कमलामाईलाई भाकेर गरेको भाकल बुझाउन मकर संक्रान्तिका अवसरमा बली समेत लिएर यहाँ आउने गर्दछन् । करिब १ हजार ३० वर्ष पहिले स्थापना भएको सिन्धुलीमा महत्वपूर्ण धार्मिक तीर्थस्थल कमलामाईस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।
वि.स. १९ सयपछि सिन्धुलीगढीमा बडाहाकिमहरुले कमलामाई स्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर र सामानहरु चढाएर कमलामाई स्थानमा सघाउ पुर्याएको इतिहासमा उल्लेख छ । कमलामाईस्थान मन्दिरको परिसरमा रहेका पाटी पौवाहरु अत्यन्त जीर्ण भएकाले पूजारीहरु तथा श्रद्वालु भक्तजनहरुको बासका लागि समस्या उत्पन्न भएको छ । कमलामाई स्थान मन्दिरको हातामा भएका कुल २ वटा पाटीहरु मध्धे एउटा अत्यन्त जीर्ण रहेको छ । अर्को वर्षायाममा पानी चुहिएका कारण बास बस्न नहुने भएको छ ।
ती पाटी पौवाहरुको मर्मत तथा सम्भारका लागि हालसम्म कुनै पनि निकायले चासो नदेखाएका कारण आगामी वर्षायाममा भत्किने सम्भावना बढेर गएको छ । कमलामाई मन्दिरको हातालाई फराकिलो पार्न तथा मन्दिर आसपासमा अन्य देवीहरुको मठ–मन्दिरहरु निर्माण गर्ने काम समेत अझै हुन सकेका छैनन् ।
मन्दिर परिसरमा बगैंचा निर्माण गर्नुपर्ने र कमलाखोला र ग्वांग खोलाको कटानबाट मन्दिरलाई संरक्षण गर्न तटबन्धको निर्माण गर्नुपर्ने खाँचो देखिएको छ । कमलामाईस्थान क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्दै मन्दिरको जीर्णोद्वार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक परिचालन भई यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सघाउ पुग्ने देखिन्छ ।
कमलामाईस्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सके सिन्धुलीको आर्थिक विकासमा समेत टेवा पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्