
काठमाडौं, जेठ २८ । व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरु बुधबार पनि प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंको न्यूरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
व्यवसायीहरुले लामो समयदेखि ‘लकडाउन’ हुँदा आफूहरु समस्यामा परेको भन्दै जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए । तर, प्रहरीले पसल बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
उनीहरुले सरकारले साना तथा ठूला व्यवसायीबीच भेदभाव गरेको आरोप लगाएका छन् ।
आफूहरु घरभाडा, बैंक तथा वित्तीय संस्थाको ब्याज र कर तिर्नसक्ने अवस्थामा नरहेकोले व्यवसाय सुचारु गर्न दिनुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका कार्यसमिति सदस्य सुनिल अग्रवालले बताए ।
महासंघले दैनिक बिहान चार घन्टा सबैखाले पसल खोल्ने निर्णय गरेसँगै व्यसायीहरुले जेठ २२ गतेदेखि पसल खोल्दै आएका हुन् ।
व्यवसायीहरुले सरकारलाई लकडाउनको ‘मोडालिटी’ परिवर्तन गरी सामाजिक दूरी कायम गर्दै सुरक्षाका विधिहरु अपनाइ पसल खोल्न दिनुपर्ने मागसहित दबाब दिँदै आएका छन् ।
तर, सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएपनि अहिलेसम्म यसबारे कुनै ठोस निर्णय गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्