Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेपाल हेपिँदैन, हेपिन तयार छैन, कालापानी क्षेत्रमा भूमि कब्जा भएको होः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिने पनि सचेत गराए ।

भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भने, ‘यदि उहाँले बोल्नुभएको हो भने जायज होइन । त्यसरी नेपाललाई धम्काउन खोजेको हो भने उचित होइन । अहिले त्यत्ति भनौं । उनी केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइनन् ।’

संसद बैठकमा उनले थपे, ‘बोलेको हो भने धम्की दिएको हो भने निन्दनीय विषय हो । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने योगीलाई स्मरण गराउन चाहन्छु ।’

यसैगरी बैठकमा कालापानी बाहेकका सीमा मिचिएका अरु भूभागमा सन्दर्भमा उठेका प्रश्नमा उनले भने, ‘राष्ट्रियताको मामला, भूमि फिर्ता ल्याउने मामलामा यो सरकारलाई शंका गर्नुपर्ने कुनै कारण छ र ? यो सरकार लहैलहैमा कुँद्दैन । जे देशको हितका पक्षमा स्वाभीमान, स्वाधीनता अखण्डताको पक्षमा छ, अध्ययन गरेर हेरेर निष्कर्षमा पुग्छ । पुगेपछि दृढतापूर्वक उभिन्छ ।’

अरु ठाउँमा कालापानीमा जसरी सेना राखेरै कब्जा जमाएको नभई विवादित मात्र भएको भन्दै उनले भने ‘हामी हाम्रो भूमि लिम्पियाधुरा, कालापानीमात्र होइन अरु पनि ल्याउँछौं । कालापानीदेखि लिम्पियाधुरासम्मको भूमि कब्जा गरेको । सेना राखेर कब्जा जमाएको । त्यसैले उता जान पाएनौं । त्यसअघि त गइरहेका थियौं । यो उचित भएन भनेर भारतलाई भनिरहेका छौं । हामीलाई फिर्ता गर्नुपर्छ भनिरहेका छौं । कूटनीतिक वार्ताको माधयमबाट समाधान खोज्दैछौ । सत्यले जित्छ । हामीसँग प्रमाण छ । नक्कली काली मन्दिर बनाएर । एउटा तिरतिरे खोल्सी देखाएर, कब्जा गरेको जस्तो अरु ठाउँमा छैन । छ भने त्यससम्बन्धमा हामी वार्ता गछौं । सुस्ता वा अरु ठाउँको विवादमा पनि वार्ता चलिरहेको छ ।’