
बारा, जेठ २७ । म्याद गुज्रिएको चिनी ल्याएर खानयोग्य प्रमाणित गरेर बजारमा पठाउने तयारी भइरहेको बेला अख्तियारको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा छापा मारेको छ ।
अनुष्का मल्टिपर्पोज कम्पनी प्रालिले गत फागुन २५ गते भारतबाट आयात गरेको म्याद गुज्रिएको चिनी जलेश्वर खाद्य क्वारेन्टाइनको परीक्षणले खान अयोग्य भन्दा–भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले खानयोग्य रहेको प्रमाणित गरेको थियो ।
सोही विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार राजस्व अनुसन्धान कार्यालयमा छापा मारेको हो ।
खाद्य तथा गुण नियन्त्रण विभाग, राजस्व अनुसन्धान कार्यालय, खाद्य परीक्षण विभाग र स्थानीय प्रशासनसहितको मिलेमतोमा चिनी खानयोग्न प्रमाणित गरिएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
७२ हजार किलो चिनी नापतौलका कर्मचारी र राजस्वका कर्मचारीको उपस्थितिमा ट्रकमा लोड गर्न लाग्दा अख्तियारले छापा मारेर गोदाममा ‘सिल’ गरेको जनाइएको छ ।
अख्तियारका सूचना अधिकारी शिवराज रेग्मीले चिनीको गुणस्तर शंकास्पद देखिएकाले छापा मारेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्