७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्न विज्ञकाे सुझाव « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


७५३ वटै स्थानीय तहलाई सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध गर्न विज्ञकाे सुझाव


507
Shares

काठमाडौं । देशभरका स्थानीय तहले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ४० औँ वार्षिकोत्सव समारोहमा सहभागी बक्ताहरुले सुर्तीजन्य पदार्थ सेवन क्यान्सर रोग लाग्ने मुख्य कारण भएकाले ७ सय ५३ वटै स्थानीय तहले यस विषयमा अनिवार्य व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

साेही कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले अर्बुद रोग रोकथाम र नियन्त्रणको लागि सरकार थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । अहिले भइरहेको सरकारी प्रयास पर्याप्त नभएकाले क्यान्सर पीडितको उपचारमा गम्भीर योजना ल्याउन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

विकासोन्मुख राष्ट्रका लागि दिइने सस्तो मूल्यका औषधी उपलब्ध गराउन संस्थाको छाता संगठनसँग सहकार्य गर्ने तयारी भइरहेको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयाे । उहाँले चाडै नै विश्वस्तरको क्यानसर रोग डाइग्नोष्टिक सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको पनि खुलासा गर्नुभयो ।

संस्थाका पूर्वअध्यक्ष कर्ण शाक्यले अझै पनि यस रोगबारे जानकारी नपाएर वा समयमानै उपचार नपाएर धेरैको ज्यान जाने गरेको भन्दै उहाँले यस्तो खतरनाक रोगको उपचारको लागि सरकाले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । भक्तपुर क्यान्सर अस्पताल बनाउन नीजि क्षेत्रबाट सहयोग जुटाएको स्मरण गर्दै शाक्यले सरकारलाई सही बाटो देखाउन संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।


नेपाल विकास अध्ययन प्रतिष्ठानका महासचिव डाक्टर जय गुरुङले अध्ययनबाट आएका प्रमाणका आधारमा सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहीत गर्न सरकारलाई सुझाव दिनुपर्ने धारणा राख्नुभयो । गुरुङले साधारणतया व्यक्तिको खानपान, रहनसहन दैनिक गर्ने क्रियाकलापको कारण अर्बुद रोग लाग्नबाट बच्न सकिने हुँदा त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

साेही कार्यक्रममा सासंद तेजुलाल चौधरीले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनिकरणका लागि नीजि क्षेत्रको प्रयास सराहनीय भएको बताउदै सरकारको गम्भीरता र सरोकार पर्याप्त नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । वरिष्ठ क्यान्सर रोग चिकित्सक डा. प्रकाशराज न्यौपानेले नेपालमा क्यान्सर रोगको प्राय सबै खाले उपचार सम्भव रहेपनि उपचार महँगो भएकोमा दु:ख व्यक्त गर्नुभयो ।

संस्थाको वार्षिकोत्सवका अवसरमा समाजसेवी प्रकट श्रेष्ठ सम्मानित हुनुभएको थियो भने ४० औं वार्षिकोत्सव स्मारिकाको विमोचन पनि गरिएको थियो । हाल विश्वमा वार्षिक ८० लाख मानिसको अर्बुद रोगका कारण मृत्यु हुने गरेको छ । जसका कारण नेपालमा पनि वार्षिक ३७ हजार मानिसको यस रोगका कारण मृत्यु हुने गरेको छ ।