१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


आप्रवासी रोक्न ब्राजिलमा सैन्य शक्ति परिचालन


0
Shares

काठमाडौं । भेनेजुएलाबाट गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने आप्रवासीलाई रोक लगाउने क्रममा भड्किएको हिंसा नियन्त्रण गर्न ब्राजिलले सैन्य शक्ति परिचालन गरेको छ ।

राजनीतिक तथा आर्थिक संकट चुलिएपछि भेनेजुएलाका लाखौं नागरिक विस्थापित हुन थालेका छन् ।

उनीहरु कोलम्बिया हुँदै छिमेकी मुलुक प्रवेश गर्ने क्रम बढेपछि ब्राजिलले आप्रवासीलाई रोक लगाएको हो ।

भेनेजुएलाबाट सीमा क्षेत्रमा पुगेका आप्रवासीले हिंसा मच्याएपछि ब्राजिलले सैन्य बल प्रयोग गरेको स्पष्ट पारेको छ ।

ब्राजिलले आप्रवासीलाई प्रवेश खुल्ला गर्न आवश्यक पूर्वाधार आफूसँग तयार नभएको भन्दै आप्रवासीलाई रोक लगाएको हो ।

ईक्वेडर, पेरुलगाएतले पनि प्रवेशका लागि राहदानी अनिवार्य गर्ने जनाएपछि समस्या बढ्ने संकेत देखिएको हो ।

सन् १९७० ताका विश्वकै २० धनी राष्ट्रमध्ये एक मानिने दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको अहिलेको अवस्था निकै दयनीय छ ।

त्यहाँका ९० प्रतिशत भन्दा बढी नागरिक गरिबीको रेखामुनि छन् । पछिल्लो एक अध्ययनका अनुसार केही वर्षमा पोषण अभाव उच्च विन्दुमा पुगेको छ ।

भेनेजुएलामा खाद्यान्न, पानी र औषधिको समेत अभाव छ ।

महंगी हजारौं गुणाले बढेर धान्न नसकिने भएपछि त्यहाँको केन्द्रीय बैंकले सन् २०१५ यताको तथ्यांक नै सार्वजनिक गर्न छाडेको छ ।(एजेन्सी)