८ असार २०८१, शनिबार | Sat Jun 22 2024


मोबाइल फोनको आयात तत्काल खोल्न अध्यक्ष मलहोत्राको आग्रह


0
Shares

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताउनुभएको छ ।

बिहीबार मोबाइल डिभाईस म्यानेजमेण्ट सिष्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताउनुभएको हो । उहाँले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताउनु भयो । अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशत भन्दा बढी मोबाइल फोनहरु चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताउनु भयो ।

उहाँले धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु भएकाले बिहीबारदेखि अवैध रुपमा भित्र्याएका मोबाइल फोनहरु बन्द हुने बताउनु भयो । अध्यक्ष मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको बताउनु भयो । उहाँले नेपालमा वार्षिक ५५ अर्ब भन्दा बढीको आयात हुने भएपनि यो वर्ष २७ अर्ब रुपौयाँको मोबाइल फोन आयात हुने बताउनु भयो । उहाँले वैधानिक रुपमा मोबाइल आयात बन्द गर्दा अवैध रुपमा नेपाल आयात २८ अर्बको हुने दावी गर्नुभयो ।

अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताउनु भयो । उहाँले नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा मोबाइल फोन आयात हुने गरेको बताउनु भयो । उहाँले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरुको कुरा नसुनेको बताउनु भयो ।

उहाँले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गर्नुभयो । उहाँले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताउनु भयो ।

चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु गरेको छ । बिहीबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस शुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट प्रणाली कार्यान्वयमा ल्याएको हो ।

यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।