
खिलनाथ ताजपुरिया र लक्ष्मणमान डंगोल (ईमेज)
काठमाडौं, जेठ २५ । लकडाउनका कारण साढे दुई महिनायता बन्द रहेका भूमिसुधार तथा मालपोत कार्यालयहरु आइतबारदेखि खुलेका छन् । तर सेवाग्राहीका काम तत्काल सुरु नहुँदा कार्यालय पुगेका सेवाग्राहीले भने अनावश्यक दुःख पाएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबारदेखि भूमि सुधार तथा मालपोत कार्यालयका आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएलगत्तै सेवाग्राहीहरु ती कार्यालय पुगेका थिए ।
तर सेवाग्राहीसम्बन्धी कामहरु तत्काल सञ्चालन नहुने भएपछि लामो समयदेखि थन्किएर बसेका कामहरु लिएर कार्यालय पुगेका सेवाग्राहीहरु फर्किन बाध्य बनेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन, मुआब्जा, तलबभत्ता, अड्डा अदालतजस्ता कार्यहरु मात्र कार्यालयबाट हुने भन्दै कार्यालय गेटमा सूचना टाँस गरेको छ ।
सेवा लिनुपर्ने प्रकृतिका जग्गा प्रशासनसम्बन्धि अन्य सेवाहरु के कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल चलिरहेको र सरकारको थप निर्णयपछिमात्र सेवाग्राहीलाई जानकारी गराइने डिल्लीबजारका प्रमुख मालपोत अधिकृत अधिकारी बताउछन् ।
६ वटा मालपोत कार्यालय रहेको काठमाडौंमा कोरोना महामारीका कारण जारी लकडाउनयता सबै सेवा ठप्प छ । आन्तरिक प्रशासनका कामहरुका लागि कार्यालयहरु खुल्ने भनिए पनि गलत प्रचारले सेवाग्राहीले दुख पाएको मालपोत कार्यालहरुको बुझाइ छ ।
लकडाउनकै बीचमा पनि मालपोत कार्यालय खुलिनु तर तत्काल सेवाग्राहीको काम नुहुनुले सेवाग्राहीले अनावश्यक दुःख पाएका छन् । यसमा स्पष्ट सूचनाका अभाव देखिन्छ ।
आन्तरिक कामकारवाहीसंगै सेवाग्राहीका काम पनि शुरु हुने भएकाले कोरोना संक्रमण प्रतिको सतर्कता अपनाई सेवा प्रवाह गर्नु भने आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्