११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


आरडीटी किट प्रयोग नगर्न विज्ञको सुझाव, सरकार भने किट किन्ने प्रकृयामा


0
Shares

प्रज्ञा तिमल्सीना (ईमेज)

काठमाडौं, जेठ २५ । कोरोना भाइरसको संक्रमण पहिचान गर्ने प्रमुख विधि पीसीआर परीक्षण हो । तर सरकारले भने आरडीटी परीक्षणलाई अझै पनि जोड दिदै धमाधम आरडीटी किट किनिरहेको छ । जसलाई विज्ञहरुले भने जनस्वास्थ्य माथीको गंभीर खेलवाड भनेका छन् ।

भारतबाट दैलेख आई क्वारेन्टाइनमा केही दिन बसेका तीन जनालाई आरडीटी परीक्षण गरी घर पठाईयो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएका भन्दै पूनः क्वारेन्टिनमा नै बोलाईयो । हाल उनीहरुसँग आएका ८७ जनाको खोजी भईरहेको छ ।

यस्तै जेठको पहिलो साता भारतबाट सुर्खेत आएका २८ वर्षिय पुरुष दुई साता क्वारेन्टाइनमा बसे, आरडीटी रिपोर्ट नेगेटिभ आएर घर गएका उनको पनि घर गएपछि जेठ २२ गते मृत्यु भयो । पछि उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो ।

यी त प्रतिनिधि घट्ना मात्र हुन् । हाल आरडीटी रिपोर्टले नेगेटिभ देखाएका धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने केहीको मृत्यु समेत भएको छ ।

नेपालमा कोरोना संक्रमण पहिलो पटक पुष्टि भएदेखि नै जनस्वास्थ्य विज्ञ र संक्रमण रोग विशेषज्ञहरुले आरडीटी परीक्षण नगराउन सुझाव दिएका थिए । तर सरकारले सुझाव बेवास्ता गर्दै आरडीटी परीक्षणलाई बढी जोड दियो ।

झन् पछिल्लो समय संक्रमण तीब्र रुपमा फैलदैं जांदा स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा रहेका डेढ लाख भन्दा बढी व्यक्तिलाई १४ दिन त्यहीं राखी आरडीटी परीक्षण गरी घर पढाउने निर्देशिका बनाएको छ । मन्त्रालयले परीक्षणका लागि थप तीन लाख आरडीटी किट किन्ने प्रकृया समेत अघि सारेको छ । एक लाख किट भने किनिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभाग प्रमुख डा.मेघराज बन्जाराले औचित्य नै नभएको परीक्षणलाई बढाएर सरकारले जनस्वास्थ्य माथी खेलवाड गरेको बताउछन् ।

नेपाल आएका आरडीटी किट वैधानिक नै नभएको भन्दै उनले यसवारे स्वास्थ्य मन्त्रालयलाई वारम्वार जानकारी गराउदा पनि वास्ता नगरेको गुनासो गरे ।

मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद्लाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडीटी परीक्षणको मान्यता जाँच गरी प्रतिवेदन वुझाउन भनेको थियो ।

तर परिषद्ले अध्ययन गरी कोरोना भाइरसको उपचारमा आरडीटी किट प्रयोग गर्न नमिल्ने प्रतिवेदन वुझाएको थियो । तर सरकारले उक्त प्रतिवेदनलाई लुकाएर हाल धमाधम आरडीटी किट किन्ने प्रकृया अघि सारेको परिषद्का अधिकारीहरु बताउछन् ।

मन्त्रालयले हालसम्म २० करोडमा२ लाख ९६ हजार थान किनिसकेको छ । सरकारले आरडीटी परीक्षणलाई किन जोड दिइरहेको छ भन्नेमा विज्ञहरु नै आश्चर्यमा छन् । डा. बन्जाराले भाइरसको एन्टिवडी मात्र पत्ता लगाउने किटले भाइरस शरीरमा छ कि छैन भन्ने पत्ता नलगाउने बताउछन् ।

सरकारले आरडीटी परीक्षणलाई मात्र किन यति धेरै महत्व दिइरहेको छ,यसको जवाफ दिनु पर्ने र खोजिनु पर्ने बेला भने आइसकेको छ ।