Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


भारत, चीन र अमेरिकामा मात्रै दूतावासः कांग्रेस नेता सांसद गिरि


0
Shares

काठमाडौं, जेठ २५ । नेपालको दूतावास भारत, चीन र अमेरिका तीन देशमा मात्रै राख्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नेता गिरिले अरु देशमा राजदूतावास नराखेर खर्च कटौती गर्नुपर्ने बताएका हुन् ।

मन पराए पनि नपराए पनि हामीलाई काम लाग्ने देश तीन वटा हुन् भन्दै संसदमा गिरिले भने, ‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो । बाँकी मुलुकमा कुनै समय राजालाई हर शहरपिच्छे दरवार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन ।’

कार्यकर्तालाई नियक्ति दिन मात्रै राजदूतावास राख्नुको औचित्य नभएको पनि उनले बताए । सानो ब्रसेल्सले सिंगो युरोप चलाउन सक्छ भन्दै गिरिले साउदी अरेबियामा मजदूर जान्छन् ठीक छ अरु खर्च कटौती गर्न आग्रह गरे ।

कूटनीतिक विषयमा हामीले बुद्धि पुर्याउन सकेका छैनौ भन्दै नेता गिरिले अहिले कूटनीतिका लागिभन्दा विदेशको नियुक्ति कार्यकर्ता पाल्ने बनाइएको टिप्पणी गरे ।

श्रीलंकाका लागि पूर्वराजदूत विश्वम्भर प्याकुरेलले एक वर्षमा फर्किएपछि रुँदै फजुलका राजदूतावास नबनाउन र सार्थक कूटनीति चलाउन गरेको आग्रह हेर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

सांसद गिरिले प्रधानमन्त्रीमा दक्षता रहेपनि उनका सल्लाहकार ठीक नभएको पनि बताए ।