२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘लकडाउन’मा खुलेका उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन


0
Shares

काठमाडौं, जेठ २४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लकडाउन’मा खुलेका उद्योग पनि ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालनमा रहेको जनाएको छ ।

मन्त्रालयले लकडाउन अवधिमा अतिआवश्यकसहित खुलेका उद्योगहरुमा जेठ २० गतेसम्म जम्मा ४६ प्रतिशतमात्रै सञ्चालनमा रहेको जनाएको हो ।

मन्त्रालयले लकडाउनका कारण कर्मचारी उपस्थित हुन नसक्दा उद्योग सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

अत्यावश्यक सामग्री दाल, चामल, चिनी, तेल, औषधि तथा अक्सिजन प्लान्ट, पोल्ट्री तथा ह्याचरीलगायतका विभिन्न १० औद्योगिक क्षेत्रको उद्योग सञ्चालन ४६ प्रतिशत क्षमतामा मात्रै सीमित रहेको जनाएकोे छ ।

यस अवधिमा विभिन्न १० औद्योगिक क्षेत्रमा रहेका ५८९ अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगहरुमा ३३८ उद्योगमात्रै सञ्चालनमा आएको छ ।

यी उद्योगमा ११ हजार ७३६ जना कामदार रहेकामा जम्मा चार हजार ९०० मात्रै उपस्थित भएको र उद्योगको सञ्चालन क्षमतासमेत घटेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार खाद्यान्न, औषधि उद्योग ६० प्रतिशत क्षमतामा सञ्चालनमा छन् भने दाना तथा ह्याचरी उद्योग ४० देखि ५० प्रतिशत क्षमतामा सञ्चालनमा छन् ।