११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


‘सुरक्षितरुपमा घरमा बस्नू’ भन्दै २७ जना कोरोना संक्रमित परीक्षणबिनै ‘डिस्चार्ज’


0
Shares

बुटवल, जेठ २४ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जना कोरोना संक्रमितलाई ‘पीसीआर’ परीक्षणबिनै घर पठाइएको छ ।

शनिबार ‘डिस्चार्ज’ गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका नौजना छन् ।

१४ दिन ‘आइसोलेसन’मा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर ‘रिपोर्ट नेगेटिभ’ आएपछिमात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएपनि अस्पतालले त्यसो नगरी घर पठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ निर्देशिकाअनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

उनले घर पठाइएकालाई सम्झाइ–बुझाइ गरी पठाइएको र सुरक्षितरुपमा घरमा बस्न आग्रह गरिएको बताए ।

यसअघि, संक्रमितहरु निको भएर डिस्चार्ज गरिँदा सञ्चारकर्मीलाई पनि जानकारी गराइने गरेपनि यसपटक भने अस्पतालले उनीहरुलाई ‘सुटुक्क’ डिस्चार्ज गरेको हो ।

सरकारले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लक्षण देखिएका संक्रमितलाईमात्रै अस्पतालमा राख्ने नीति लिएको छ ।

यसअघि, उक्त अस्पतालबाट १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।