
काठमाडौं, जेठ २४ । बिमा समितिले कोभिड–१९ बिमालेख पुनः बिक्री गर्न स्वीकृति दिएको छ ।
गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बिमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना बिमा बजेटमा समावेश गरिएको र राष्ट्रिय महत्वको कार्यक्रमसमेत भएकोले केही परिमार्जन गरी पुनः बिक्री गर्न स्वीकृति दिइएको बताए ।
उनले अब जारी गरिने कोरोना बिमालेखअनुसार २०७७ चैत मसान्तसम्मकोमात्रै जोखिम बहन हुने ताए ।
योसँगै अबदेखि बिमालेख खरिद गर्नेको आगामी चैत मसान्तसम्मका लागिमात्रै बिमा हुनेछ ।
यसअघि जारी भएका बिमालेखहरुमा भने खरिद गरेको मितिले एक वर्षको जोखिम बहन हुने व्यवस्था थियो ।
बिमा शुल्क जम्मा भएअनुसार बिमा ‘पुल’मार्फत् दायित्व भुक्तानी हुनेछ । त्यसपछिमात्रै नेपाल पुनर्बिमा कम्पनी, बिमा समिति र सरकारलेसमेत व्यहोर्ने गरी बिमालेख जारी गरिएको हो ।
नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले एक अर्ब रुपैयाँसम्मको जोखिम बिमा संस्थाहरुबाट हुने बताए ।
त्यस्तै, पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँ जोखिम बहन गर्नेछ । त्यसपछिको ५० करोड बराबरको जोखिम बिमा कम्पनीहरुको ‘रिजर्भ’मा रहेको रकमबाट बहन हुनेछ भने बाँकी जोखिम बिमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भएअनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताए ।
३५ हजार नागरिकसम्मको जोखिम व्यहोर्नसक्ने गरी कोरोना बिमालेख पुनः जारी गरिएको छ ।
निर्जीवन बिमा कम्पनी, पुनर्बिमा कम्पनी र बिमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बिमामा अहिलेसम्म तीन लाख २५ हजार नागरिक सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्