२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


खर्चको विवरण र रोकथामका लागि गरिएको परिणामबीच बेमेल


0
Shares

दीपेन्द्र अधिकारी (इमेज)

काठमाडौं, जेठ २३ । कोरोनाभाइरस रोकथामका लागि सरकारले करिब १० अर्ब रुपैयाँ खर्च भएको दाबी गरेको छ ।

तर, सरकारले कोरोना रोकथाममा विपद् व्यवस्थापन कोषको रकम भने खर्च गरेको छैन ।

कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म आठ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम संकलन भएको छ । संघीय, प्रदेश र स्थानीय तहसमेतको गरी जम्मा रकम हो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार संघीय कोरोना कोषमा दुई अर्ब ३१ करोड, प्रदेश कोरोना कोषमा एक अर्ब ९९ करोड र स्थानीय तहमा करिब चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ ।

त्यसमध्ये हालसम्म कोरोना संक्रमण रोकथामका लागि नौ अर्ब ७६ करोड रुपैयाँ निकासा गरिएको छ ।

निकासा भएको रकममा बजेटरी खर्चसमेत समावेश छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हालसम्म नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

तर, निकासा भएको रकममा सरकारी तथा गैरसरकारी संघ–संस्था र विकास साझेदारको खर्च जोडिएको छैन ।

राहत वितरण, स्वास्थ्य सामग्री खरिदलगायत कामको शीर्षगतरुपमा के–कति खर्च भयो भन्ने विवरण महालेखा नियन्त्रक कार्यालयले तयार गर्दैछ ।

विपद् व्यवस्थापन कोषको रकम पनि कोरोना कोषमा ल्याइने ठोसरुपमा काम भने हुन सकेको छैन ।

७५३ स्थानीय तहमध्ये ६२१ स्थानीय तहकोमात्रै खर्चको विवरण आएको छ । अन्य १३१ ओटा स्थानीय तहको खर्च विवरण आए खर्च अझै बढ्ने कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।

करिब १० अर्ब हाराहारीमा सरकारले कोरोना रोकथामको लागि खर्च गरेको बताएपनि त्यसको प्रभावकारी परिणाम भने देखिएको छैन ।

साढे दुई महिनाभन्दा लामो ‘लकडाउन’का बाबजुद् पछिल्ला दिनहरुमा कोरोना संक्रमितको ‘ग्राफ’ रफ्तारले उकालो लागिरहेको छ भने मानिसको मृत्यु हुनेक्रम पनि बढेको छ ।

यसले खर्चको विवरण र रोकथामका लागि गरिएको परिणामबीच मेल नखाएको प्रस्ट पार्दछ ।