२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


सुष्मा तामाङलाई शिरिष फाउण्डेसनको साथ


117
Shares

काठमाडौं । ओलम्पियन पौडीवाज शिरिष गुरुङले स्थापना गरेको शिरिष फाउण्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ ।

फाउण्डेसनले तामाङलाई आउँदो १२ महिना मासिक १५ हजार रुपैयाँका दरले नगद तथा खेल सामग्री उपलब्ध गराउनेछ । आईतबार तामाङ र शिरिष फाउण्डेसनका कोषाध्यक्ष सपना गुरुङले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार फाउण्डेसनले एक वर्षको अवधिमा तामाङले सहभागिता जनाउने प्रत्येक प्रतियोगिताका लागि खेल पोशाक तथा सामग्री उपलब्ध गराउनेछ ।

तामाङले आधिकारिक राष्ट्रिय र अन्तर्राष्ट्रिय बाहेकका प्रतियोगितामा फाउण्डेसनको पोशाक लगाएर प्रतिष्पर्धा गर्नुपर्नेछ । यसैगरी सम्झौता अवधिभित्र तामाङ घाइते वा बिरामी परेमा फाउण्डेसनले उपचारको व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ । फाउण्डेसनका सदस्य, कार्यालय सचिव एवं नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले सम्झौता अवधिमा तामाङले राम्रो प्रदर्शन गर्दै अघि बढे सम्झौता थप गरिने बताउनुभयो ।

कार्यक्रममा फाउण्डेसनले सहयोग उपलब्ध गराएकी पहिलो खेलाडी निमा घर्ती मगरले तामाङलाई फाउण्डेसनको तर्फबाट खेल सामग्री हस्तान्तरण गरेकी थिइन् भने तामाङले निमालाई फाउण्डेसनको तर्फबाट उपहार प्रदान गरेकी थिइन् ।