
कैलाली । कैलालीको भजनी नगरपालिका–५ का बासिन्दा हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश छन् ।
वडा नम्बर– ५ पुलियापुरी गाउँमा वर्षा सुरू भएसँगै डुबानमा पर्दा उनीहरू हुलाकी सडकमा त्रिपाल हालेर रात काट्न बाध्य छन् ।
कैलालीको भजनी नगरपालिका– ५ पुलियापुरीकी रितादेवी कामी हरेक वर्षामा हुलाकी सडक छेउमा त्रिपाल लगाएर बस्छिन् । सडकभन्दा माथि रहेको घर कान्द्रा नदीले डुबाउने त्रासमा उनी परिवारसहित त्रिपालमा बस्ने गरेकी हुन् ।
असार १ गतेदेखि सडकमा पाल टाँगेर बस्दै आएकी उनी कार्तिक महिनासम्म यही त्रिपालको सहारा लिएर सडकमा बस्नु परेको बताउँछिन् । डोटीको बर्छेनबाट उनका पुर्खा पहिरोका कारण विस्थापित भइ उक्त स्थानमा आएर बसोबास गरेका थिए । पहिरोले विस्थापित भएर यहाँ आइ बसोबास गरेका उनीहरुलाई यहाँ पनि घरभित्र बस्न सक्ने अवस्था छैन ।
झण्डै सात वर्षदेखि यहाँ बस्दै आएका उनीहरूले सरकारी निकायहरू अनुगमन गर्न आएपनि समस्याको समाधानतर्फ पहल कसैले नगरेको गुनासो गरेका छन् । हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ ।
यो वर्ष पनि बस्ती पूर्णरूपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर सडकमा बस्न थालेको स्थानीय लालबहादुर विकले बताए । बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको विकको गुनासो छ ।
हरेक वर्ष यस्तै समस्या भइरहेपनि कसैले पुनःस्थापनाका बारेमा नसोचेको स्थानीय परुली कामीले बताइन् । बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ । डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएका छन् ।
१२ वर्षदेखि डोटी र दैलेखबाट बसाई सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ । डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको उनीहरू बताउँछन् ।
बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परेपनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्