
काठमाडौं, जेठ २२ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।
२५ मेगावाट जडित क्षमता भएको सौर्य परियोजनाबाट बुधबारदेखि १.२५ मेगावाट बराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो ।
दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ ।
ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै विद्युत् उत्पादन हुनेछ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।
आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
बाँकी काम पनि अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको उनले बताए ।
देवीघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६ र ३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ ।
सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत वैकल्पिक व्यवस्था गरी सोलारबाट उत्पादित विद्युत् प्रणालीमा जोडिएको आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्