
काठमाडौं, जेठ २२ । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकसिल मन प्रयोग गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक खर्च र आम्दानीमा पारदर्शिता रहेको दाबी गर्दै उनले पहिलो गोपनियतालाई प्राथमिकता दिने गरेकोमा अहिले पारदर्शितालाई प्राथमिकता दिने गरिएको पनि बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग गरेको छलफलमा उनले पछिल्ला दिनमा पारदर्शितामा निकै सुधार आएको जिकिर गरे ।
विकास खर्चको समीक्षा प्रणाली रहेको भन्दै उनले भुक्तानी प्रक्रियामा पनि कुनै समस्या नरहेको दाबी गरे ।
अनलाइनमार्फत समेत भुक्तानी प्रक्रिया सुरु भइसकेकाले यसमा थप सुधार आउने उनको दाबी छ । चालु आर्थिक वर्षको जेठ २१ गतेसम्मको तथ्यांक अनुसार सरकारको कुल आम्दानी ६ खर्ब ८२ अर्ब ५७ करोड रहेको छ ।
यसमा करतर्फबाट ५ खर्ब ७० अर्ब, गैरकर ५७ अर्ब र अनुदान एवं अन्य आम्दानी ५५ अर्ब रहेको मैनालीले जानकारी दिए । यो लक्ष्यको तुलनामा करिब ५८ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस्