१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नांलाेमा पसल राख्नु जस्तो होइन’


520
Shares


काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २ वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गर्नुभएको छ ।

शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै २ वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताउनुभयो । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिनुभयो ।

उहाँले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरुसँग आग्रह गर्नुभयो । वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८ सय १९ मतान्तरले मात्रै सिंह विजयी बन्नुभएको थियो ।

सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले देश विकास गर्न पुराना कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरुले कुनै काम गर्न नसक्ने जिकीर गर्नुभयो । उहाँले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ भन्दै प्रश्न समेत गर्नुभयो ।

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभयो । उहाँले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरुले संघीयताका कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाउनुभयो । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताउनुभयो ।

नेता सिंहले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । शिक्षा दिनेसँगै सिप दिनेकामको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरुमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

नेता सिंहले आफू पैसा कमाउन र नाम कमाउन राजनीतिमा लागेको नभइ सेवाका लागि राजनीति गरेको बताउनुभयो । भारी मतले विजय भएर देश हाक्ने क्षमता आफूमा रहेको उहाँकाे दावी छ ।