बनेपा, भदौ ३ । प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
‘जिल्ला अदालत काभ्रेपलाञ्चोक, धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भने–‘फेरि भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ ।’
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६, चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको बताए ।
चन्दा असुलीको आरोपमा पक्राउ गरिएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–६ घर भएका नेता विश्वकर्मालाई शुक्रबार बेलुका सर्वाेच्च अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलमा ल्याएको हो ।
यसअघि, सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय सदस्यद्वय वीरेन्द्रनगर नगरपालिका–२० का कृष्ण धमला र धादिङ जिल्ला नीलकन्ठ नगरपालिका–३ का मोहन कार्कीलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्