१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्त्य, पहिलो कार्यकालमा ६७ कानून निर्माण


26
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन गत शुक्रबारबाट अन्त्य भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तय भएसँगै सांसदहरू चुनावमा केन्द्रित हुने भएकाले पनि अधिवेशन अन्त्य भएको हो ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पहिलो पटक २०७४ साल मंसिरमा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचनबाट चुनिएका प्रतिनिधिले २०७४ माघ ७ गते प्रदेशसभा सदस्यको सपथ लिए भने उनीहरूले सुदूरपश्चिम प्रदेशसभाका १० वटा अधिवेशनमा भाग लिएका छन् ।

प्रदेशसभाले ६७ कानून निर्माण गर्दै पहिलो कार्यकाल अन्त्य गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै नेताहरू चुनावमा केन्द्रित हुने भएकाले प्रदेशसभाको समीक्षा गर्दै बैठक अन्त्य गरिएको हो ।

गत शुक्रबारको बैठकलाई प्रदेशसभा सदस्यहरूले आफ्नो पहिलो कार्यकालको अन्तिम बैठकका रूपमा लिएका छन् । प्रदेशसभा सदस्यहरुले करिब ५ वर्षे अवधिमा संघीयताको अभ्यास गर्दै जग बसाल्न सफल भएको दावी गरेका छन् ।

कुनै संरचना बिना स्थापना भएको प्रदेशसभाले सरकार गठनदेखि, सचिवालय व्यवस्थापन तथा ऐन कानून निर्माणमा उल्लेख्य भूमिका खेलेको प्रदेशसभा सदस्यहरु बताउँछन् ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि पहिलो प्रदेशसभाको कार्यकालले संघीयताको जग बसाल्न सफल भएको बताउनुभएको छ । प्रदेशसभाले निर्माण गर्ने कानून कार्यान्वयनदेखि जनताले देख्ने गरी प्रदेश सरकारले विकास गरेको भट्टको दावी छ ।

प्रदेश सभा सञ्चालन भएको ५ वर्षमा प्रदेश राजधानी र नामकरण, एफएम रेडियो तथा टेलिभिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विवादित बनेको छ।

त्यस्तै, हालै प्रदेश सभाबाट पारित भएको निजामती कर्मचारी ऐन भने प्रदेश सभामा कानूनको प्रारूप मिलाउने काम भइरहेको छ । विधेयकमा विधायन तथा प्रदेश मामिला समितिले सभामा पेश गरेको प्रतिवेदनका आधारमा कानूनको प्रारूप मिलाउन लागिएको हो ।

उक्त विधेयकलाई शुक्रबार सचिवालयबाट पूर्णता दिई प्रदेश प्रमुख कार्यालयमा प्रमाणिकरणका लागि पठाइने छ ।