सुर्खेत, जेठ १९ । दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य अम्मर बहादुर थापा र सुशील थापालाई एक साताका लागि प्रदेश सभा बैठकमा प्रवेश रोक लगाइएको छ ।
कोरोना संक्रमण क्षेत्रमा खटिएका दुवैबाट प्रदेश सभामा समेत कोरोना जोखिम हुने भन्दै एक साता होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।
कोरोना संक्रमण दैलेखमा फैलिएपछि दुबैजना उद्धार, राहत, क्वारेन्टाइन व्यवस्थापन र औषधी उपचारमा खटिनु भएको थियो ।
कोरोना प्रभावित क्षेत्रमा दिनरात खटिएका सांसदलाई एक साता होमक्वारेन्टाइनमै बस्न आग्रह गर्दै प्रदेश सभामा प्रवेश रोक लगाइएको जनाइएको छ ।
सभामुख राजबहादुर शाहीले टेलिफोनमार्फत दुवै प्रदेश सदस्यहरुलाई एक सातासम्म प्रदेश सभामा रोक लगाइएको जानकारी दिए ।
७ दिन होम क्वारेन्टाइन बसेपछि कोरोनाको पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रदेश सभामा सहभागि गराइने जनाइएको छ ।
पीसीआर रिपोर्ट बिना प्रदेश सभा बैठकमा कसैलाइ पनि प्रवेश गर्न दिइएको छैन ।





प्रतिक्रिया दिनुहोस्