-प्रमेश प्रधान
मैंले छोएपछि
उसको
पानी, ईनार, भान्छा
केही पनि नचलेको
धेरै भईसक्यो,
मेरो टहरा
अछुत बनाईएको त
म जन्मनु अगाडि नै हो!
मेरा रुवाई र पीडा
उसको कानभित्र छिरे पनि
उसले सुनेको त
कानूनमा भएपनि,
इतिहास मै छैन
म माथि
उसले गरेको दुब्र्यवहारका श्रृंखलाहरुलाई!
उसले
चलन ठानेको
धेरै भयो,
धर्ममा विश्वास राख्ने
मलाई
पाप लाग्छ देवता रिसाउँछ
भनीभनी
ब्ल्याक मेल गरिरहेको
युगौं भईसक्यो !
मेरो परिश्रममाथि शासन गर्ने
उसको शास्त्रले
वैधानिकता पाएको
मानवता मरेको दिन देखि नै हो!
कहिलेककाँही
मैले गर्ने सामान्य प्रतिक्रियालाई
उसले
‘चलनचल्ती विरोधी‘ र ‘अराजक‘ देखेको
मेरो शिष्टाचारलाई
उसले कमजोरी देखेको
साँच्चै
युगौं भईसक्यो!
अब त
सहनुको पनि हद हुन्छ नि
मैंले सानो संसार कल्पना गर्न पनि
रोक लाग्ने हो भने,
मुटुको भाषा बोल्न खोज्दा पनि
मुटु नै झिक्छु भन्ने भाषा प्रयोग गर्ने हो भने
प्रेमको गीत गाउन पनि
प्रतिबन्ध लाग्छ भने
मलाई माफ गर,
मेरो संसार
मैदान खाली गर
र
म बन्दुक बोक्न तयार छु ।
(नवराज विकको सम्झना र चौरजहारी नरसंहारको सान्दर्भिकतामा)




प्रतिक्रिया दिनुहोस्