ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता हुने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता हुने


104
Shares

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता असोज दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजक ठमेल पर्यटन विकास परिषदले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवर्द्धन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।

प्रतियोगिता ९ देखि ११ असोजसम्म लैनचौरस्थित फुटबल मैदानमा हुने परिषदका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले बताउनुभयो ।

प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौं, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य शहरका २० टिमको सहभागिता रहने आयोजकको भनाइ छ ।

४० वर्ष उमेर कटेका खेलाडीको सहभागीता रहने प्रतियोगितामा १० हजार रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ताको समयसीमा २ असोजसम्म रहेको छ ।

सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।

विजेताले दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

परिषदका अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

हाल स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिएपनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गरिने आयोजकको भनाइ छ ।