२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको स्वरुप परिवर्तन गर्न महासंघको माग


0
Shares

काठमाडौं, जेठ १८ । नेपाल उद्योग वाणिज्य महासंघले बजेटले ल्याएको राहत प्याकेजले निजी क्षेत्रलाई उत्साही बनाउन नसकेको जनाएको छ ।

महासंघले आइतबार आर्थिक वर्ष २०७७/७८ को बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै यस मार्फत आएका राहतका कार्यक्रमले अर्थतन्त्रको अहिलेको असहज अवस्थालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको हो ।

विद्यमान असहज अवस्थामा अर्थतन्त्रलाई बचाउन ठोस उत्प्रेरणात्मक राहत प्याकेज ल्याउनु आवश्यक भएतापनि त्यसो नभएको उसले जनाएको हो ।

आएका राहत प्याकेज पनि छरिएर आएको र यसले अहिलेको अवस्थालाई संवोधन गर्न नसक्ने महासंघको ठहर छ ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेको उत्पादन र आपूर्ति श्रृंखलालाई पुनस्र्थापना गर्दै कृषि, उद्योग, व्यापार, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायको पुनरूत्थान गरी उपलव्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनरूत्थान गर्दै विकास गतिलाई निरन्तरता दिने बजेटको उद्देश्य र प्राथमिकता किटान गरिएको छ ।

तर पनि ती उद्देश्य र प्राथमिकता पुरा गर्न सहयोग गर्ने वर्ग निजी क्षेत्रलाई भने बजेटले उत्साही बनाउन नसकेको महासंघले जनाएको छ ।

साथै महासंघले लकडाउनको समयसीमा र मोडालिटिबारे गम्भिर पुनर्विचार गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

लकडाउन मात्र गरेर हामीले समय खेर फालिरहेको आभास निजी क्षेत्रलाई हुन थालेको भन्दै सुरक्षा संवदेशनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउनको समयसिमा र मोडालिटी वारे गम्भीर पुनरबिचार गर्न महासंघले सरकारसमक्ष आग्रह गरेको छ ।