Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बाग्मती प्रदेशमा कोरोनामुक्त जिल्ला रसुवा


0
Shares

रसुवा, जेठ १८ । पूर्वसावधानी अपनाएका कारण रसुवा जिल्ला हालसम्म कोभिड –१९  मुक्त भएको छ ।

चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि  नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो ।

सहायक प्रजिअ सपनाकुमारी भट्टराईले सबै क्षेत्रबाट सहयोग मिलेको र स्थानीय बासिन्दा सचेत भएकाले रोगबाट हालसम्म जिल्ला सुरक्षित भएको  बताए ।

रोगप्रति सावधान रहन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत गाउँपालिका, रेडक्रस, सुरक्षाअंग, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्थालगायत निकायबाट  नागरिकमा जनचेतनाको कार्यक्रम, बन्दाबन्दीको पूर्णपालना, क्वारेन्टिन एवं आइसोलेशन शय्याको तयारी तथा चिकित्सक एवं स्वास्थ्य सामग्रीको जोहोसमेतले हालसम्म रसुवा कोरोना भाइरसको समस्याबाट मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए ।

जिल्ला बाहिरबाट आएका व्यक्तिको निगरानी र  शंकास्पदको तुरून्तै परीक्षणले गर्दा सफल भइएको  उनको जिकिर छ ।

क्वारेन्टिनमा हाल १९  व्यक्ति छन् । तीमध्ये ११ जना भारतबाट आएका छन् । जिल्ला बाहिरबाट आएका स्थानीय बासिन्दालाई  क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरेर मात्र घर पठाउने गरिएको बताइएको छ । रासस