
काठमाडौं, जेठ १५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्ष एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । यो रकम गत वर्षभन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कोभिड १९ का कारण विद्यार्थीमा परेको मनोसमाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालिन गरिने जानकारी दिए ।
यस वर्ष एक हजार ८ सय विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको उनले बताए ।
४६ लाख छात्रछात्राका लागि आवश्यक पाठ्यपुस्तकका लागि २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्