
काठमाडौं, जेठ १५ । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम यसै वर्ष सकाउने भन्दै ५ अर्ब ४० करोड बजेट छुट्याएको छ ।
संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि ५ अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए ।
उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौंमा पानी वितरण थाल्ने घोषणा पनि गरेका छन् । २०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदै आएको छ ।
०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । मेलम्चीको पानी सुरुङतर्फ फर्काउने मुख्य संरचनाको काम सकिए पनि अन्तिम रुप दिन बाँकी छ ।
रुग्ण तथा बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्र भित्र्याइने
सरकारले देशभरका रुग्ण र बन्द उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई साझेदारको रुपमा भित्र्याइने बताएको छ । बजेट घोषणामार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
थप लगानी, नयाँ प्रविधि र व्यावसायिक व्यवस्थापनको माध्यमबाट त्यस्ता उद्योगको पुनरुत्थान गरिने जनाइएको छ ।
विद्युत् उत्पादन नगर्नेको लाइसेन्स खारेज गरिने
बजेटमा सरकारले विद्युत् आयोजनाको लाइसेन्स लिएर पनि उत्पादन गर्नेहरुको लाइसेन्स खारेज गर्ने जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष विद्युत् प्राधिकरणको संगठनात्मक परिमार्जन गरिने बताए ।
नेपालको पानी जनताको लगानी अभियानलाई जारी राख्ने भन्दै आगामी दुई वर्षभित्र उज्यालो नेपाल अभियान सम्पन्न गरिने बताए ।
आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको प्रयोग पुर्याइने भन्दै ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब र वैकल्पिक ऊर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड विनियोजन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्