१० असार २०८१, सोमबार | Tue Jun 25 2024


आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन


546
Shares

काठमाडौं । आज शनिबार भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । शनिबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।

यसैबीच, बुबाको मुख हेर्ने दिन पनि आज शनिबार नै परेकाले छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आज शनिबारको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

आज शनिबारका दिन बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।

रसुवाको वेत्रावतीमा समेत आज शनिबार दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आज शनिबारको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा मेलासमेत लाग्छ ।

आज शनिबार नै युवा कवि मोतीराम भट्टको १५७ औं जन्मजयन्ती पनि मनाइँदै छ ।